नक्कली भुटानी शरणार्थी प्रकरण : यी हुन् ३३ जना आरोपी

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेकाहरूलाई संगठित ठगी र राज्यविरुद्धको कसूर मुद्दा चलाउन राय दिएको बताइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार मुद्दामा प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय, काठमाडौंलाई बुझाएको हो । मुद्दा चलाउन राय दिइएका ३३ जनामध्ये ३० जनाको नामथर र ठेगाना खुलेको छ भने एक जनाको नाम खुलेको छ । अरु दुई जनाको भने नामथर र ठेगानासमेत खुलेको  छैन । अभियुक्तहरुबाट २७ करोड ८४ लाख ५० हजार ५०० रुपैयाँ विगो माग दाबी गर्न राय दिइएको प्रहरीको भनाइ छ ।

यो प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ३३ जनालाई राज्यविरुद्धको, ठगी र संगठित अपराध गरी तीन खालका मुद्दा चलाउनुपर्ने राय प्रहरीको छ । ३३ मध्ये १६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने बाँकी १७ जना अहिले फरार छन् ।

यी हुन् नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी

भूटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै गिरोहले नेपाली नागरिकसँग करोडौं ठगी गरेका थिए । गिरोहले नाम प्रतिवेदनमा समावेश गरेर जनही १० देखि ५० लाख रुपैयाँसम्म उठाएका थिए। रकम उठाइसकेपछि गिरोहले नक्कली शरणार्थी परिचयपत्र वितरण गर्दै आएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नेपाली नागरिकलाई नक्कली शरणार्थी परिचयपत्र दिलाउने प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुरका छोरा सन्दीप रायमाझी, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, पूर्व सांसद आङटावा शेर्पा, हज समितिका अध्यक्ष शमशेर मियाँ तथा दलालहरू सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, सागर राई, कुमार  गुरुङ, रामशरण केसी, गोविन्द चौधरी र  बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसी पक्राउ परेका छन् । उनीहरु अहिले प्रहरी हिरासतमा छन् ।

त्यस्तै केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी , रमा थापा,  प्रतीक थापा  र नीरज राई अहिले फरार छन् । प्रतीक पूर्वगृहमन्त्री बादलका छोरा हुन भने नीरज इन्द्रजित राईका छोरा हुन् ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार