गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत पाउन असफल भएका छन् । बिहीबार मुख्यमन्त्री गुरुङले आफुनो पक्षमा मत दिन आव्हान गरेका थिए ।

मतदानमा उनको पक्षमा अथवा हुन्छ भन्ने २७ मत परे भने विपक्षमा अथवा हुन्न भन्नेमा ३० मत परेको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । मतदानमा ५८ जना सहभागी थिए भने एक जना मतदानमा सहभागी भएनन् ।

मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे । नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका छन् ।

मुख्यमन्त्री गुरुङ प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असमर्थ भएपछि अब संविधानको धारा १६८ उपधारा ५ अनुसार प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ । संविधानको सो धारामा विश्वासको मत पाउन सक्ने दावी पेश गरेका प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रावधान छ । प्रदेशसभाका कुनै पनि सदस्यले बहुमत जुटाउन नसके संविधानको धारा १६८ (७) अनुसार प्रदेशसभा विघटन भई मध्यावधि निर्वाचनको मिति घोषणा हुने संवैधानिक व्यवस्था छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार