एमालेलाई जेठ ३ अघिको अवस्थामा फर्काउने ओलीको घोषणा

देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता लिनुपर्ने

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले एमाले एकताका लागि पार्टीलाई पूर्ववतः अवस्थाबाट सञ्चालन गर्न तयार रहेको बताएका हुन् । उनले जारी गरेको विज्ञप्तिमा पार्टी एकताको पक्षमा रहेकाहरुको आधारमा केन्द्रीय कमिटी र स्थायी कमिटी सक्रिय रहने, मातहतका कमिटी र जनसंगठनहरु पनि जेठ ३ पूर्वको अवस्थामा सक्रिय हुने बताइएको छ । साथै यस बीचमा पार्टीका कुनै नेताबाट भएका गल्ती कमजोरीलाई लिएर कुनै कारबाही नगरिने, पूर्वाग्रह नराखिने र भेदभाव नगरिने पनि उल्लेख गरिएको छ ।

ओलीले त्यसो गर्दा तत्कालीन नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएका नेताहरुसहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने बताएका छन् । ओलीले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता हुनुपर्ने प्रष्ट पारेका छन् ।

‘नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन् । मातहतका पार्टी कमिटी र जनसङ्गठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् । सङ्गठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ । आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ,’उनले भनेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार