पर्सामा एक साता थप निषेधाज्ञा थपियो

पर्सा जिल्लामा वैशाख १६ गते देखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ । बुधबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले जेठ १३ गते बिहीबारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ २० गते सम्मका लागि थप्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा संक्रमणको साङगलो तोड्न (चेनब्रेक) उपयोगी देखिएकाले जेठ २० गते मध्यराति १२ बजे सम्मका लागि थप्ने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

दोश्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि पर्सा जिल्लामा वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा पहिलो पटक वैशाख २३ गतेबाट पुनः थप गरी वैशाख ३० गतेसम्मका लागि लम्ब्याइएको थियो ।

त्यसपछि दोस्रो पटक वैशाख ३० गतेबाट जेठ ६ गते सम्मका लागि र तेस्रो पटक थप गरी जेठ १३ गते बिहीबारसम्मका लागि निषेधाज्ञा थपिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार