नयाँ सरकार बनाएर राष्ट्रपतिलाई महाअभियोग लगाऔँ : गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर बिदा गर्नुपर्ने बताएका छन् । राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आह्वान गरेलगत्तै थापाले राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गर्नुपर्ने बताएका हुन् । सुझबुझ पुर्याएर सरकार गठनका लागि दिएको समय अगावै राष्ट्रपति र प्रधानमन्त्रीलाई बिदा गर्नुपर्ने उनको भनाइ छ ।

उनले सामजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, “विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको होरुजानेर गरेको हो। गनगन गरेर नबसौं ।
सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं,महाअभियोग लगाएर रापलाई बिदा गरौं।”

यसअघि आजै राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आह्वान गरेकी छन्। उनले जेठ ७ गते ५ बजेसम्मको समय दिएकी छन्।

संविधानको धारा ७६ को उपधार ३ बमोजिम बनेको सरकारले विश्वासको मत पाउने आधार नदेखिएको भनेर प्रधानमन्त्रीले जानकारी दिएकाले उपधारा ५ अन्तर्गतको सरकार गठनका लागि आह्वान गरेको उल्लेख गरेकी छन्। राष्ट्रपतिले शुक्रबार साँझसम्म विश्वासको मत प्राप्त गर्ने आधारसहित सरकार गठनका लागि आह्वान गरेकी हुन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार