राष्ट्रियसभा उप-निर्वाचन आज, ९ बजेदेखि मतदान

मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नहुने

वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको छ ।

निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता कायम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

मतदाताको निर्वाचकमण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुरुप हुने निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ । आयोगले सबै मतदातालाई मतदानमा सहभागी हुन अनुरोध गरेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले मतदाताको बसोबास र मतदान व्यवस्थापन स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा प्रबन्ध मिलाइएको जानकारी दिएको छ । हेटौँडा नगरपालिका– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन केन्द्रमा मतदान हुँदैछ । केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएको छ ।

उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ । निर्वाचकमण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सक्ने छन् । स्थानीय तह निर्वाचन, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न सकिने आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नहुने
यसैबिच उपनिर्वाचनमा सहभागी हुने मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिने भएको छ । मतदान प्रक्रियाबाट मतदाता कसैलाई पनि वञ्चित नगर्नका लागि यस्तो निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा कोरोना संक्रमित मतदाताका लागि भने अलग्गै व्यवस्था हुने निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

वाग्मती प्रदेशअन्तर्गतका उपनिर्वाचनमा नेकपा ९एमाले०का तर्फबाट गृहमन्त्री रामबहादुर थापा, नेपाल मजदूर किसान पार्टीबाट कृष्णगोपाल तामाङ र स्वतन्त्र खिमलाल देवकोटा प्रतिस्पर्धा गर्दै छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार