माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाउँदै

माओवादी केन्द्रले सरकारलाई आफ्नो समर्थन नरहेको पत्र औपचारिक रुपमा आज संसद सचिवालयलाई बुझाउने भएको छ । पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाउन लागेको माओवादीले जनाएको छ ।

मंगलबारको स्थायी कमिटी बैठकबाट गरेको निर्णयअनुसार आज समर्थन फिर्ताको पत्र बुझाउन लागिएको हो । माओवादीका नेता लिलामणि पोखरेलले भने, ‘आज पार्टीका साथीहरु समर्थन फिर्ताको पत्र बुझाउन संसद सचिवालयमा जानुहुन्छ ।’ संसद विघटनपछि पुनःस्थापना हुँदासमेत ओली नै प्रधानमन्त्री भइरहेकाले कानुनी प्रक्रिया पुर्याउने पत्र बुझाउन लागेको माओवादीको भनाइ छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङको नेतृत्वको टोली पत्र बुझाउन संसद सचिवालय जाने भएपनि समय यकिन भइनसकेको पोखरेलले ​जानकारी दिए ।

‘आज पत्र बुझाउने पक्का हो तर समय तय भैसकेको छैन, सायद ११ बजेतिर हुनसक्छ’ उनको भनाइ छ । ओलीको विकल्पमा नयाँ सरकार गठनको कसरत गर्दै आएको माओवादीले सरकारलाई दिएको समर्थन भने कायमै राखेको भन्दै आलोचना हुँदै आएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार