गण्डकी प्रदेशमा गु्रुङ नेतृत्वको सरकारलाई तीन दिनको समय, बुधवार अविश्वास प्रस्तावमा मतदान

मुख्यमन्त्रीलाई जसपा र राष्ट्रिय जनमोर्चाका सांसदप्रतिको झिनो आशा कायमै

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आजदेखी सुरु हुँदैछ । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले अन्त्य गरेको संसद नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेर विशेष अधिवेशन बोलाउन माग गरेपछि फेरि बस्न लागेको हो ।

केन्द्रीय राजनीतिमा चुलिएको विवादसँगै आफुबिरुद्ध भोलिपल्टै अविश्वासको प्रस्ताव दर्ता हुन लागेको बुझेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफु बिरुद्ध आईपरेको संकट टार्ने मनशायसहित वैशाख १ गते राति संसद अन्त्य गर्न सिफारिस गरेका थिए । । उनको सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले सोही दिन मध्यरातमै संसद अन्त्य गरेपनि वैशाख २ गते प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गर्दै कांग्रेससहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त रुपमा अविश्वास प्रस्ताव दर्ता गरेपछि संसदको विशेष अधिवेशन शुरु हुन लागेको हो । अविश्वास प्रस्तावमा ३ दलका २८ सांसदको हस्ताक्षर छ । तर गण्डकी प्रदेश सरकारको निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाको केन्द्रिय समितिले अविश्वासको प्रस्तावमा सहमति जनाउने भनेपनि प्रदेश सांसदले हस्ताक्षर गरेका छैनन । केन्द्रको निर्देशनबिपरित जनमोर्चाको गण्डकी संसदीय दलका नेता कृष्ण थापा अझै पनि गुरुङ सरकारको विरुद्धमा लाग्न तयार नभएको अभिव्यक्ति केहिदिन अघि दिएका थिए । उनले राजनीतिक रुपले केही समय गुरुङ इतर पक्षमै लागेपनि आफ्नो साथ गुरुङ सरकारलाई नै रहेको अभिव्यक्ति सार्वजनिक गरेपनि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शनिबार एक विज्ञप्तिमार्फत सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेकाले राष्ट्रिय जनमोर्चा प्रष्ट रुपले सत्ताको विपक्षमा उभिने देखिन्छ ।

गण्डकी प्रदेश सांसद सचिवालय स्रोतका अनुसार आजदेखी शुरु हुने विशेष अधिवेशनको शुरुमै अविश्वास प्रस्तावका प्रस्तावक तथा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल बोल्ने र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव पेश हुने कार्यक्रम छ ।

सामान्यतय अधिवेशनको पहिलो दिन दलका नेताहरुले बोल्ने गरेपनि यो विशेष अधिवेशन भएकाले प्रस्तावकले बोलेपछि सांसदहरुले अविश्वास प्रस्तावमाथि बोल्नेछन् । पहिलो दिनको बैठकमा कति सांसदले बोल्ने भन्ने टुंगो लागेको छैन । स्रोतका अनुसार सोमबार र मंगलबार सांसदहरुले अविश्वास प्रस्तावमाथि छलफल गर्नेछन् । सांसदहरुले बोलेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिने र मतदानको प्रक्रिया अगाडि बढ्ने छ भने अविश्वासको प्रस्तावउपर मतदान हुनेछ । बुधवार हुने यहि मतदानले गण्डकी प्रदेशमा गुरुङ नेतृत्वको सरकारको आयु टुंगो लाग्नेछ ।

गण्डकी प्रदेश सभामा सत्तारुढ नेकपा एमालेमा २७ र १ स्वतन्त्र (राजिब गुरुङ)गरी मुख्यमन्त्रीको पक्षमा २८ सांसद छन् । विपक्षी मोर्चामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदसहित ३२ सांसद छन् ।

विशेष अधिवेशन सुरु हुन लाग्दा नेपाली कांग्रेस, माओवादीले आफ्ना सांसदलाई पोखरा नछाड्न र अविश्वासको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् । यता मुख्यमन्त्री गुरुङले विपक्षी दलहरुसँग लगातार छलफल गर्ने प्रयास गरिरहेका छन् । तर २८ सांसद रहेको एमालेका लागि गुरुङलाई जोगाउन थप ५ सांसदको आवश्यक पर्नेछ । यसका लागि राष्ट्रिय जनमोर्चाका तीन सांसदले साथ दिएपनि दुई सांसद अपुग हुनेछन । अपुग सङ्ख्या पु¥याउन मुख्यमन्त्री गुरुङको प्रयत्न जनता समाजवादीका २ सांसदलाई आर्कषित गर्नेतर्फ जारी रहेपनि अन्तिम अवस्थामा गुरुङ जोगिने देखिए एमालेकै सांसदहरुले कर्णाली प्रदेशमा जस्तै फ्लोर क्रस गरेर पनि गुरुङलाई ढलाउने पक्षमा रणनीति लिएको बुझिएको छ ।

 

 

 

 

 

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार