राष्ट्रियसभा निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा तीन सिटका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह ‘गरिमा’ विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मिश्रले प्रदेश सभातर्फ ३९ मत अथवा १८७२ मतभार र स्थानीय तर्फ १०४ मत अथवा १८७२ मतभारका साथ राष्ट्रिय सभामा जितेका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका डिल्लीराज भट्टले प्रदेश सभा तर्फ १३ मत अथवा ६२४ मतभार र स्थानीय तहतर्फ ७१ मत अथवा १२७६ मतभार प्राप्त गरे ।
यस्तै महिलातर्फ विजेता शाहले प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार छाया कुमारी थापा (सन्तोष)ले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छन् ।
गठबन्धनबाटै उमेदवार बनेका पार्कीले प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८९० मतभार पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश विकले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १२०६ मतभार प्राप्त गरेका छन् ।
राष्ट्रिय सभाका लागि सुदूरपश्चिममा सत्तापक्षीय दलहरुको गठबन्धन भएको थियो । सत्ता गठबन्धनका विरुद्ध नेकपा एमाले एक्लैले उम्मेदवारी दिएको थियो ।