नियमित कामबाटै प्रदेश-१ प्रहरीले संकलन गर्‍यो १९ करोड रुपैयाँ राजस्व

आर्थिक वर्ष २०७८/७९ मा प्रदेश नम्बर १ बाट प्रहरीले रु १९ करोड आठ लाख ५९ हजार राजस्व संकलन गरेको छ । प्रदेशका १४ जिल्लामा प्रहरीले ६ महिनामा विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका एक हजार १६८ जना फरार प्रतिवादीलाई पक्राउ गरी कैद भुक्तान गराएको छ ।

यस्तै, अवैध रूपमा समान चोरी निकासी गर्ने ४७ जना मानिस पक्राउ गर्नुका साथै उनीहरूबाट पाँच करोड ५८ लाख ८० हजार ५६७ रुपैयाँ राजस्व संकलन भएको छ । नदीजन्य पदार्थको अवैध दोहन गर्ने ३२ जना मानिस र ५१५ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै २० लाख १९ हजार २५० रुपैयाँ राजस्व संकलन भएको छ । अवैध काठ चोरी निकासी गर्ने ४२ जना मानिस पक्राउ गरी १९५२ क्युफिट काठ बरामद गर्दा ४४ लाख चार हजार ६६६ रुपैयाँ राजस्व संकलन भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेशका प्रहरी प्रवक्ता नवीनराज राईले ट्राफिक व्यवस्थापनतर्फ सोही अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने एक लाख ३१ हजार ५७६ वटा सवारी साधनलाई कारबाही गर्दा आठ करोड ५९ लाख ६४ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको बताए । उनका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा १४ जिल्लामा जम्मा तीन हजार ६२७ मुद्दा दर्ता भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार