स्याङ्जामा १६ महिने बालकको चक्कु हानी हत्या, पाँच वर्षीया बालिका घाइते

स्याङ्जामा १६ महिने बालकको हत्या भएको छ । वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई हाल सोही नगरपालिकाको वडा नं. १० भकुण्डेमा डेरा गरि बस्ने रनमाया गुरूङका १६ महिने छोरा साइमन गुरूङको हत्या भएको हो । घटनामा रनमायाकी पाँच बर्षीया छोरी घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार बुधबार दिउँसो सवा १ बजे ३३ वर्षीय जितेन्द्र गुरूङले एक बालक र बालिकामाथि चक्कु प्रहार गरेका थिए ।

बालकको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएकामा डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

घाइते साइना गुरूङको अहिले प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । उनको घाँटी, बायाँ हातको बुढी औंलामा चोट लागेको छ ।

प्रहरीले चक्कु प्रहार गरी हत्या गरेको आरोपमा जितेन्द्रलाई पक्राउ गरिसकेको छ । उनी बालकका छिमेकी भएको खुलेको छ । यद्यपि कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेर प्रहरी अनुसन्धान गरिरहेको कार्यालयले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार