प्रहरी हिरासत कक्षमा थुनुवा मृत भेटिए

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका २ सिनुरजोडा बस्ने ४० वर्षीय पल्टु रविदासको शव जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको हो ।

रविदास आफैंले लगाएको गञ्जीलाई पासो बनाई हिरासत कक्षको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले बिहान साढे ४ बजेतिर शौचालयमा झुण्डिएको अवस्थामा शव भेटिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

भाइसँगको अपसी विवादमा ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पक्राउ परेका रविदासलाई धनुषा जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर आर्थिक कमजोर रहेका उनले धरौटी बुझाउन नसक्दा अदालतले कारागार पठाउन आदेश दिएपछि प्रहरीले कारागार लैजानकै लागि हिरासतमा राखेको थियो ।

कारागार पठाउनको लागि हिरासतमा राखिएका रविदासले तनावमा आएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।यता, परिवारजनले हिरासत आत्महत्या गर्न कतिको सम्भव भएको बताउँदै घटनाको सूक्ष्म अनुसन्धान गर्न माग गरेका छन्। हिरासतमा आत्महत्याबारे घटनाको जानकारी लिन तथा अनुगमन गर्न मानवअधिकारकर्मीहरूको टोली बिहानै पुगेर घटनास्थलको बिहानै अवलोकन गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार