माओवादी केन्द्र भूमिगत र छापामार शैलीमा चलिरहेको रायमाझीको आरोप (भिडियो)

नेकपा (माओवादी केन्द्र)का पूर्व नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भूमिगत र छापामार शैलीले चलिरहेको आरोप लगाएका छन् ।

शुक्रबार माओवादी केन्द्र खारेजीको लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्न अन्य नेताहरूसहित पुगेका नेता रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐन अनुसार नचली भूमिगत र छापामार शैलीले चलेको आरोप लगाए ।

२९ वर्षदेखि महाधिवेशन नभएको माओवादी केन्द्रको २०६९ मा नाममात्रैको महाधिवेशन भए पनि त्यसपछि नभएका कारण पार्टी नै अवैध टिप्पणी गरे । उनले अवैध पार्टीले जननिर्वाचित प्रतिनिधिलाई कारबाही गरेको पनि बताएका छन् ।

उनले भने, ‘करिब २८, २९ वर्ष सम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो २०६९ सालमा नाम मात्रैको । २०७८ सालसम्म, ९ वर्षसम्म अर्को महाधिवेशन त्यो पार्टीले गरेको छैन । एमाले, माओवादीको एकतालाई शुन्य समय मानेपनि करिब ७ वर्ष भयो ।’

माओवादी केन्द्रले पार्टीलाई अद्यावधिक गर्न नसकेको बताए । उनले भने, ‘राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक ५ वर्षमा महाधिवेशन गर्नुपर्ने भनेको छ । उसले आफ्नो अद्यावद्यिक गर्न सकिरहेको छैन । त्यस्तो अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गरियो । संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, जनताबाट प्रत्येक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गर्ने ?’

राजनीतिक पार्टीहरूबीचमा सुमधुर सम्बन्ध र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै रायमाझीले अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न आफ्नो पार्टीभित्र आन्तरिक जनवादको प्रयोग गरी स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने पनि बताए । राजनीतिक पार्टीहरूलाई सिस्टममा ल्याउन आफूहरूले माओवादी केन्द्र खारेजीको माग सहित निर्वाचन आयोगमा निवेदन दिएको उनको भनाइ छ ।

नेता रायमाझीसँगै निर्वाचन आयोगमा माओवादी केन्द्रका पूर्व नेताहरू मणि थापा, प्रभु शाह लगायत पुगेका थिए । उनीहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदनको निर्णय छिटो गर्न पनि आयोगलाई आग्रह गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार