कर्णाली प्रदेशमा शिशु मृत्युदर ६.४ प्रतिशत

सुर्खेत । राष्ट्रिय जनगणना २०७८ का अनुसार कर्णाली प्रदेशमा शिशु मृत्युदर ६ दशमलव चार प्रतिशत रहेको देखिएको छ । तीन लाख ५२ हजार ९८३ विवाहित महिलाले हालसम्म आठ लाख ५२ हजार ३२२ बच्चा जन्माएका छन् । तीमध्ये ६ दशमलव चार प्रतिशत अर्थात् ५४ हजार ५४८ शिशुको मृत्यु भएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । मृत्यु हुनेमा बालिकाभन्दा बालक धेरै छन् ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै २१८ शिशुको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो तीन वर्षमा पाँच वर्षमुनिका ५८६ बालबालिकाको मृत्यु भएको छ ।

यसैबीच, राष्ट्रिय जनगणनाको तथ्यांकमा पछिल्लो समय कर्णाली प्रदेशमा छोरीभन्दा छोराको धेरै जन्म भएको देखिन्छ । गत वर्षसम्म आठ लाख ५२ हजार ३५२ बच्चा जन्मिएकामा ५२ दशमलव दुई प्रतिशत अर्थात् चार लाख ४४ हजार ९१२ छोराको जन्म भएको छ । त्यस्तै, ४७ दशमलव नौ प्रतिशत अर्थात् चार लाख आठ हजार २६३ छोरीको जन्म भएको छ ।

यहाँका महिलाहरु अझै पनि जोखिम मोलेर घरमै सुत्केरी हुनाले मातृ तथा शिशु मृत्युदर नघटेको सरोकारवालाहरु बताउँछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार