शिकार खेल्दा बन्दुकको छर्राले लागेर साथीको मृत्यु भएपछि फरार चारजना पक्राउ

शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्राले लागेर साथीको मृत्यु भएपछि फरार रहेका चारजना पक्राउ परेका छन् । मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले घटनापछि फरार रहेका चार जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धवीर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का १९ वर्षीय विपन लिम्बू रहेका छन् ।

बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ परेकाहरुले विभिन्न स्थानमा लुकाएर राखेको चार नाल भरुवा बन्दुक पनि प्रहरीले बरामद गरेको छ । शिकार खेल्न सँगै गएका साथीको बन्दुकको छर्राले लागेर मृत्यु भएपछि उनीहरु हतियार लुकाएर फरार भएका थिए ।

घटनापछि उनीहरु रूख र ढुंगाको चेप तथा ओढारमा बन्दुक लुकाएर फरार भएको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । गत वैशाख ८ गते राति १० जनाको समूह केराबारीको बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा वन्यजन्तुको शिकार खेल्न गएको थियो । मृगलाई ताकेर हानेको बन्दुकले छर्राले केराबारी–३ का ३२ वर्षीय हस्त राईको घटनास्थलमै मृत्यु भएको थियो । ३७ वर्षीय गजेन्द्र राईले मृगलाई हानेको भरुवा बन्दुकको छर्राले हस्तलाई लागेको थियो ।

घटना भएको भोलिपल्ट गजेन्द्र र २६ वर्षीय रुविन लिम्बू एक नाल भरुवा बन्दुकसहित पक्राउ परेका थिए । ज्यान सम्बन्धी र हातहतियार खरखजना कसूरमा मुद्दा चलाउन प्रहरीले पक्राउ परेकाविरुद्ध म्याद थप गरेर घटनाको अनुसन्धान थालेपछि सिकार खेल्न गएको गिरोहका बारेमा खुलेको राईको भनाइ छ । घटनामा संलग्नमध्ये तीन जना अझै फरार छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार