ब्राजिल र क्रोएसियाको यस्तो छ हेड टु हेड

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबल प्रतियोगितमा आजबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदै छन् । क्वाटरफाइनलको पहिलो खेलमा राति पौने नौ बजे ब्राजिलले क्रोएसियासँग प्रतिस्पर्धा गर्दै छ । दुवै टोली उपाधीका दाबेदार टोली हुन् । भने यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । आजको खेलमा जित हात पार्ने टोली सेमीफाइनलमा प्रवेश गर्ने छ । भने पराजित हुने टोली घर फर्कने छ ।

फिफा विश्वकपको इतिहास हेर्दा ब्राजिलले २२ संस्करणमध्य १४ औं पटक विश्वकपको क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्दैछ । यसअघिको १३ खेलमा ब्राजिलले ८ पटक सेमिफाइनलमा प्रवेश गर्न सफल भएको थियो । तर टोलीले पछिल्लो ४ मध्य ३ क्वाटरफाइनलमा भने हार बेहोरेको छ । तीनै पटक युरोपेली टोलीले ब्राजिललाई हराएका थिए । सन् २००२ को फाइनलमा जर्मनीलाई हराएयता ब्राजिल ५ पटक युरोपेली टोलीसँग पराजित भएको छ ।

क्रोएसियाले पहिलो पटक विश्वकपको नकआउट खेलमा दक्षिण अमेरिकी टोलीको सामना गर्दैछ । टोलीले खेलेका पछिल्ला ५ मध्य ४ खेल अतिरिक्त समयमा लम्बिएको छ । क्रोएसियाले विश्वकपको नकआउट चरणमा खेलेका पछिल्ला ९ मध्य ७ खेल जितेको छ । क्रोएसियाले सबै ९ खेलमा गोल गरेको इतिहास छ ।

हालसम्म ब्राजिल र क्रोएसियाबीच विश्वकपमा दुई पटक खेलेका छन् । दुवै पटक समूह चरणमा आमनेसामने भएका दुई टोलीमा ब्राजिलले बाजी मारेको छ । सन् २००६ मा काकाको एकमात्र गोलमा ब्राजिल १–० ले विजयी भएको थियो । यस्तै सन् २०१६ मा नेयमारको दुई गोलमा ब्राजिलले ३–१ को जित दर्ता गरेको थियो ।

समग्रमा यी टोलीको ४ पटक अन्तर्राष्ट्रिय खेलमा भिडन्त भएको छ । ब्राजिल ३ पटक विजयी हुँदा १ खेल बराबरीमा सकिएको छ । पछिल्लो पटक सन् २०१८ मा मैत्रीपूर्ण खेलमा ब्राजिल २–० ले विजयी भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार