समानुपातिक तर्फको मतगणना सकियो, एमाले बन्यो लोकप्रिय दल

'एकीकृत समाजवादीले कटाएन थ्रेस होल्ड, सात दल बने राष्ट्रिय पार्टी'

काठमाडौं – मंसिर ४ गते सम्पन्न आम निर्वाचनको समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने सात दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने आयोगले जनाएको छ।

२ लाख ९८ हजार मत पाएर आठौं स्थानमा रहेको एकीकृत समाजवादीले थ्रेस होल्ड नकटाएका कारण राष्ट्रिय दलको मान्यता नपाउने भएको छ। १ करोड ५ लाख ६० हजार ६७ सदर मत गणना हुँदा नेकपा एमाले लोकप्रिय मत पाउने पहिलो दल बनेको छ।

एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । २७ लाख १५ हजार २२५ मत पाएर नेपाली कांग्रेस दोस्रो दल बनेको छ। नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत पाएको छ।

राप्रपाले ५ लाख ८८ हजार ८४९, जसपाले ४ लाख २१ हजार ३१३ र जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ मत पाएको छ । २ लाख ९८ हजार ३९१ मत पाएको एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन नसकेको आयोगले जनाएको छ।

आयोगका अनुसार सात राजनीतिक दलले मात्रै राष्ट्रिय मान्यता पाएका छन्। थ्रेसहोल्ड कटाएको दलहरुले पाउने सिट संख्या यकिन गर्ने काम अहिले भइरहेको आयोगका सहायक प्रवक्ता ऋषि भुसालले बताए ।

‘कुन दलले कति सिट पाउँछ भन्ने आयोगले यकिन विवरण निकाल्छ, सम्बन्धित दललाई निर्वाचित संख्याको क्लष्टर मिलाएर ल्याउन आयोगले पत्राचार गर्छ,’उनले भने,‘आयोगले बढीमा दलहरुलाई तीन दिनको समय दिन्छ।’

आयोगले यसअघि सात दिनको समय दिँदै आएकोमा यो पटक कानुन संशोधन गरेर तीन दिन भित्र बुझाउनु पर्ने व्यवस्था गरेको छ। दलहरूले क्लष्टर नमिलाई नाम पठाए थप एक दिनको समय दिइने सहायक प्रवक्ता भुसालले बताए। उनले मंसिर मसान्तसम्म राष्ट्रपति समक्ष चुनावको परिणाम बुझाउने तयारी आयोगले गरेको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार