धनगढी प्रर्दशन : प्रहरीले च्यात्यो विद्यार्थी छात्राको कपडा

धनगढी । धनगढीमा निषेधाज्ञालाई तोड्दै प्रर्दशन गरिएको छ । ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरे पनि न्यायको माग गर्दै बिहानैदेखि प्रदर्शन थालिएको हो । निषेधाज्ञा लागु गरिएको घटनास्थल आसपासको क्षेत्रमा जम्मा भएका स्थानीय र विद्यार्थीले चेतनालाई न्याय माग्दै प्रदर्शन गरिरहेका छन् ।

बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएकोमा यतिवेला विद्यार्थीहरू निषेधाज्ञा आदेश तोड्दै प्रदर्शन गरिरहेका छन्। र, उनीहरूमाथि पुनः प्रहरी दमन सुरु भएको छ।

प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुरानो फूलबारी बसपार्क , पश्चिममा धनगढी–४ रातोपुल, उत्तरमा धनगढी–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा धनगढी–१ र २ स्थित हुलाकी राजमार्गलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। विद्यार्थीहरुले डिभोटी चोकमा आन्दोलन गरिरहेका हुन्।

प्रहरीले विद्यार्थीहरूलाई गिरफ्तार गर्नुका साथै लगाएको लुगा नै च्यातिनेगरी बल प्रयोग गरेकोमा चौतर्फी विरोध भइरहेको छ। सामाजिक सञ्जालमा त झनै प्रहरी दमनको चर्को आलोचना भइरहेको छ। यसले प्रहरी मेरो साथी भन्ने नारालाई कलिला विद्यार्थीहरूले कसरी बुझ्ने र उनीहरूको मानसपटलमा कस्तो प्रभाव पार्ला भन्दै सामाजिक सञ्जालमा प्रश्नसमेत उठेको छ।

उनीहरुले दोषीलाई कारवाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । बिहीबार बिहान धनगढी उपमहानगरपालिका–५ स्थित पिपलचौतारा नजिकै कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको विरोधमा बालिका अध्ययनरत पञ्चोदय माध्यमिक विद्यालयका विद्यार्थीले बिहीबार दिनभर धनगढीमा प्रदर्शन गरेका थिए भने आन्दोलनकारी घटनास्थलबाट शव उठाउन दिएका थिएनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार