विश्वकपमा आज चार खेल हुँदै (तालिकासहित)

काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आइतबार समूह ई र समूह एफका चार खेल हुँदैछन् । दिउँसो पौने ४ बजेदेखि सुरु हुने दिनको पहिलो खेल समूह ई मा रहेका जापान र कोस्टारिकाबीच हुनेछ । यो खेल अहमद विन अली रंगशालामा हुनेछ ।

पहिलो खेलमा जर्मनीलाई हराएको जापान उच्च मनोवलमा छ भने स्पेनसँग ७–० ले स्तब्ध भएपछि कोस्टारिका नकआउट चरणका लागि आजको खेल जित्नैपर्ने दवावमा छ ।

समूह एफ अन्तर्गत बेल्जियम र मोरक्को आज साँझ पौने ७ बजे आमने सामने हुनेछन् । समूहको पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो भने बेल्जियमले क्यानडालाई पराजित गरेको थियो । मोरक्कोलाई हराएमा बेल्जियम नकआउट चरणको नजिक पुग्नेछ ।

राती पौने १० बजे समूह एफकै क्यानडा र क्रोएसियाले खेल्नेछन् । दुवै टोली जारी विश्वकपमा पहिलो जितका लागि प्रयासरत रहनेछन् । चार वर्षअघि फाइनल खेलेको क्रोएसिया अघिल्लो खेलमा मोरक्कोसँग निराशाजनक प्रदर्शनबाट माथि उठ्न चाहन्छ । क्यानडा यो खेल जितेर नकआउट सम्भावना कायम राख्ने लक्ष्यमा हुनेछ ।

जारी विश्वकपको समूह चरणको बहुप्रतीक्षित खेल आज राती पौने १ बजे हुनेछ । अल खोरस्थित अल बायेट रंगशालामा पूर्व च्याम्पियनहरु स्पेन र जर्मनी आमनेसामने हुँदा जर्मनी गर या मरको स्थितिमा छ ।

पहिलो खेलमा जापानसँग अप्रत्यासित पराजयपछि चारपल्टको विश्व विजेता जर्मनीलाई झड्का लागेको छ । यो खेल जित्न नसके उसले समूहबाटै घर फर्किनुपर्ने स्थिति आउनसक्छ । कोस्टारिकालाई ७–० ले हराउँदा एक पूर्ण सामुहिक प्रदर्शन गरेको स्पेन आज त्यही लयलाई कायम राख्न प्रयासरत हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार