मध्‍यान्‍नसम्म ३२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

मध्‍यान्‍नसम्म ३२ प्रतिशत मत खसेको आकलन निर्वाचन आयोगले गरेको छ। निर्वाचन आयोगले आइतबार दिउँसो प्रेस ब्रिफिङ गर्दै दिउँसो १२ : ४५ बजेसम्म ३२ प्रतिशत हाराहारी मत खसेको जनाएको हो।

सामान्य विवादका कारण मतदान रोकिएका केही मतदान केन्द्रमा मतदान सूचारु भइसकेको र केही क्षेत्रमा मतदान सुचारु गर्न सर्वदलीय बैठक बसिरहेको पौडेलले बताए।

उनका अनुसार सुर्खत, पाल्पा, झापा, पोखरा र पर्वतका केही ठाउँमा स्थगित भएको मतदान सुचारु भइसकेको छ । बाजुराका ६/७ स्थानमा स्थगित भएकामा एउटामा सुचारु भइसकेको छ । आज साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । मतदान पश्चात मतपेटिका आइसकेपछि दलहरूबीच सहमतिका आधारमा आज रातिबाट मतगणना सुरु हुने आयोगले जनाएको छ।

कुनै मतदान केन्द्रमा मतदान कार्य स्थगित गर्नुपरे साँझ ५ बजेपछि मात्र सूचना टाँस्न मतदान अधिकृतहरूलाई निर्देशन दिइएको उनले बताए।

आयोगले कुल ७० प्रतिशत मत खस्ने आकलन यसअघि नै गरिसकेको छ। प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन्। देशभर २२ हजार २२७ मतदान केन्द्रबाट मतदान भइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार