वृद्ध भत्ता ४ हजार पुग्यो

सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको हो ।

आर्थिक वर्ष २०७८/७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता परिमार्जन गरिएको जानकारी दिए । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको उनले बताए ।

बढेको भत्ता साउन १ गतेबाट कार्यान्वयनमा आउने छ । यसअघि सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटले वृद्धभत्ता ३ हजार पुर्‍याएको थियो । त्यसअगाडि मासिक २ हजार रुपैयाँ भत्ता रहेको थियो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको तथ्यांक अनुसार मुलुकभर ३२ लाख ५८ हजार १ सय २९ जनाले सामाजिक सुरक्षा भत्ता खाइपाइ आएका छन् । जसमध्ये १७ लाख ३९ हजार ३५९ जनाले वृद्धभत्ता बुझ्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार