गुणस्तरहीन संरचनाका कारण सोलुखुम्बुको फाप्लु विमानस्थल जोखिममा

गुणस्तरहीन निमार्ण संरचनाका कारण सोलुखुम्बुको फाप्लु विमानस्थल पहिरोको जोखिममा परेको छ । भर्खर निमार्ण सम्पन्न भएको विमानस्थलको माथिल्लो घेराबारसहितको क्षेत्रमा ग्याबिन वाल लच्केर पहिरो जाँदा विमानस्थल नै जोखिममा परेको हो ।

माथिल्लो भागको घेराबार भत्किएसँगै विमानस्थलको टर्मिनल भवनमा समेत क्षति पुगेको छ । माथिबाट खसेको पहिरो टर्मिनल भवनमा पर्दा भवनको झ्याल तथा सिसा फुटेको नेपाल नागरिक उड्यन प्राधिकरण फाप्लुका प्रमुख रमेश महतले जानकारी दिए ।

विमानस्थलबाट माथिल्लो भागमा लगाइएको ग्याभिङ वालसमेत लच्किँदा जोखिम उच्च भएको नागरिक उड्यन प्राधिकरण फाप्लुले जनाएको छ । भत्किएको क्षेत्रलाई तत्काल मर्मत नगर्ने हो भने वर्षातमा उडान हुन नसक्ने भन्दै गएको वैशाख ११ गते प्राधिकरणलाई लिखित तथा मौखिक रुपमा समेत जानकारी गराइसकेको प्रमुख महतले बताएका छन । नागरकिलाई सेवा दिन राज्यकोषको लगानीबाट निर्मित विमानस्थल भत्किनु ठेकेदारको कमजोरी भएको उनको भनाई छ ।
नेपाल नागरिक उड्यन प्राधिकरण सिभिल इन्जिनियरिङ विभागका निर्देशक प्रदीप अधिकारीले अघिल्लो वर्ष निर्माण गरिएको दुवै क्षेत्र भत्किएको भन्ने जानकारी भएपनि कोभिड १९ को कारण जारी निषेधाज्ञाको समयमा आफुले घटनास्थलको निरिक्षण गर्न नपाएकाले त्यस विषयमा छानबिन हुने बताए ।
प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले विमानस्थलको घेराबार भत्किएको देखिएकाले तत्काल नागरिक उड्डयन प्राधिकरण फाप्लुलाई आवश्यक कदम चाल्न निर्देशन दिइको भन्दै राज्यको सम्पत्तिमा लापर्बाही गर्ने छुट कसैलाई पनि नभएको तर कतिपय घटना सामान्य हुदाँ पनि यसलाई बढाईचढाई गर्ने प्रवृत्तिका कारण निरिक्षण नगरेसम्म केहि भन्न नमिल्ने भन्दै तत्काल यसको अनुगमन गरिने जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणको आठ करोड ७८ लाख रुपैयाँको लागतमा काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी काठमाण्डौले पार्किङस्थलसहित घेराबार निर्माण गरेको हो । निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको स्थानीयवासीले बताएका छन् । तर निर्माण कम्पनीका प्रमुख दिनेश रिजालले भने ठेकेदार कम्पनीको कुनै पनि कमजोरी नरहेको दाबी गरेका छन ।
वर्षातको पानीले पर्खाल भत्किएको भन्दै उनले आफूहरुले सबै रकम भुक्तानीसमेत पाइसकेकाले बाँकी मर्मतको जिम्मा आफूहरुको नरहेको जिकिर गरे । तर प्राधिकरणका इन्जिनियर एवं आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठ भने भत्केको पर्खाल निर्माणको जिम्मा काष्ठमण्डप उमा एण्ड कम्पनी जेभीकै रहेको बताउछन।

ठेकेदार कम्पनीका प्रमुख रिजालले निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको दाबी गरे पनि इन्जिनियर श्रेष्ठले भने काम बाँकी रहेको बताए । यसरी निर्माण कम्पनी र इन्जिनियरको भनाइ बाझिनुले पनि कामको गुणस्तरियतामा प्रश्न गर्ने आधारहरु खडा भएको छ ।

२०७६ सालको जेठमा निर्माण सम्पन्न भएको यस पार्किङस्थल असारमै भत्किएपछि फेरि मर्मत गरिएको थियोे । मर्मत गरिएको पाकिङस्थलसमेत जोखिममै रहेको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार