स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भन्दै भेरी अस्पतालमा विरोध प्रदर्शन

नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरुले काम छोडेर अस्पतालको प्रांगणमा भेला भै दोषीलाई कारवाही र आफ्नो सुरक्षाको माग गर्दै नाराबाजी गरेका हुन् ।

माग पुरा नभएसम्म काममा नफर्किने भेरी अस्पताल स्वास्थ्यकर्मीसंघका अध्यक्ष होमनाथ सुवेदीले बताए । छिटो माग पुरा नगरिए जिल्ला भरिकै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रने समेत उनले चेतावनी दिएका छन् ।

सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको छ ।

बिहीबार राती कोरोना संक्रमित डिल्ली रावतको उपचारका क्रममा भेरी अस्पतालमा निधन भएपछि उनका आफन्तहरुले अस्पतालमा तोडफोड गर्नुका साथै नर्स र चिकित्सकमाथि सांघातिक आक्रमण गरेका थिए ।

बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले स्वास्थ्यकर्मीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका मानबहादुर मृतकका भाइ हुन् भने बाँकी दुइ जना मृतकका छोराहरू रहेको बताए । उनले उनीहरुका बारेमा अनुसन्धान भैरहेको बताए ।

अस्पतालको कोभिड कक्षमा तोडफोड गर्दै मृतकका आफन्तले ज्यान मार्ने शैलीमा आक्रमण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित चार जनाले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए । सो घट्नाले स्वास्थ्यकर्मीको मनोबल घटाएको जनाउँदै देशभरिनै कडा निन्दा र भत्र्सना भैरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार