सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ

प्रहरीले गोपनीयता कायम नगरेको वकिलको गुनासो

क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए ।

कतारकाे दाेहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीकाे जिम्मा लगाएकाे हाे ।

सन्दीप विरुद्ध १७ वर्षीया किशोरीले भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् । उनले नाबालिगलाई भक्तपुरको चाँगुनारायण नगरपालिका-८ सुडालस्थित बोजिनी रिसोर्टमा दुई घण्टा राखेको भेटिएको छ ।

भदौ ५ मा सन्दीपले आफूलाई नगरकोटस्थित विभिन्न होटलमा घुमाएर फर्केपछि राति एयरपोर्टस्थित होटेल ‘काठमाडौं इन’मा लगेर पटक-पटक बलात्कार गरेको १७ वर्षीया नाबालिगको आरोप छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । बलात्कार आरोपमा सन्दीपलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ ।

त्यस्तै भदौ २३ मा उनलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले कप्तानबाट निलम्बन गरेको थियो । क्रिकेट सङ्घले निलम्बन गरेपछि सन्दीपले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत आफू निर्दोष रहेको भन्दै कानुनी लडाइँ लड्ने बताएका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार