आज भक्तपुरमा राँगोलाई रक्सी खुवाएर दौडाउने जात्रा

आज भक्तपुरमा आज राँगो दौडाउने जात्रा हुँदैछ । यहाँको दशैँको सबैभन्दा आकर्षक मानिने खमेय जात्रा अर्थात् राँगो दौडाउने जात्रा आज महानवमीका दिन हुँदैछ ।

जात्रालाई व्यवस्थित गर्न स्वयमसेवक परिचालन गरिने भएको छ । हिजो सोमबार भक्तपुर नगरपालिका– ९ को कार्यालयमा बसेको सरोकारवालासँगको भेलाले जात्रालाई थप व्यवस्थित बनाउन स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको थियो ।

भक्तपुरमा महानवमीका दिन जात्राको प्रचलन रहिआएको छ । जात्राको क्रममा भक्तपुर नगरपालिका वडा नं ९ स्थित नवदुर्गा द्योछें (देवता घर) मा पालेर राखेको बडेमानको खम्ये अर्थात् राँगोलाई दौडाउने गरिन्छ । दौडाउनुअघि रक्सी खुवाएर राँगोलाई मताउने गरिन्छ । अनि सयौं बलिया युवाहरूले राँगोलाई लखेट्दै दौडाएर जात्रा मनाइन्छ ।

जात्रामा भीड हुने र मातेको राँगो अनियन्त्रित भएर दुर्घटना हुन सक्ने भएकाले साथै उच्छृंखल गतिविधि हुन नदिनका लागि जात्रालाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको बताइन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार