समानुपातिकको सूचीमा रहेका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने

आउँदो मंसिर ४ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा सोमबार निवेदन दिनुपर्ने भएको छ ।

निर्वाचन आयोगका अनुसार आज सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने समय तोकिएको छ । दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने आयोगको कार्यतालिका छ ।

यसैगरी, असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवार मनोनयन गर्नुपर्ने कार्यक्रम रहेको छ ।

यस्तै, यही असोज २२ गते उम्मेदवारको बन्दसूचीमा सूचना प्रकाशन गर्ने, असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधका लागि निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ गरी निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिम रुपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

आयोगले आइतबारसम्म बन्दसूची पेस गर्ने समय तोकेको थियो । समानुपातिकतर्फ प्रतिनिधिसभामा ४८ दलले बन्दसूची पेस गरेका थिए । त्यसमध्ये प्रमुख दलसहित ३६ वटा दलले त्रुटि सच्याएर सूची बुझाइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार