सिंहदरबारमा छलफल सकेर सर्वोच्च पुगे विपक्षी गठबन्धन

चुनाव रोक्न अन्तरिम आदेश र संवैधानिक इजलासमा सुनुवाइको माग

सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलमा छलफल सकेर ५ दलका शीर्ष नेतासहित सांसद सर्वोच्च अदालत गएका छन् । प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाको विरोध तथा संविधानको धारा ७६ (५) बमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणाको माग गर्दै विपक्षी गठबन्धनका शीर्ष नेता अदालत गएका हुन् ।

बहुमत हुँदाहुँदै राष्ट्रपतिले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै सभापति देउवाको नेतृत्वमा ५ दलका सांसद सर्वोच्च गएका हुन् ।

यसअघि सिंहदरबारमा सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका नेताले छलफल गरेका थिए ।

सांसदहरूले गरेको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्री बनाउन माग गर्ने परमादेश दिन सर्वोच्च जान लागेका हुन् ।

रिटमा कात्तिक २६ र मंसीर ३ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन रोक्न अन्तरिम आदेशसमेत माग गरिएको छ । त्यस्तो रिट संवैधानिक इजलासमै दर्ता भएर सुनुवाइ हुनुपर्ने माग समेत राखिएको छ ।

रिट निवेदनमा प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेका देउवालाई प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपतिको गैरसंवैधानिक काम भन्दै अदालतले परमादेशमार्फत देउवालाई सपथग्रहणका लागि बाटो खुलाइदिन समेत माग गरिएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार