महिला साफकाे तयारी पूरा

इलाम – नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप २०२२ सम्पूर्ण तयारी पूरा भएको छ। आगामी भदौ २१ गतेबाट असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफको सम्पूर्ण तयारी पूरा भएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलन गर्दै महिला साफको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ।

पंकजविक्रम नेम्वाङको नेतृत्वमा एन्फाको नयाँ कार्य समितिको आयोजनामा महिला साफ पहिलो प्रतियोगिता हो। यसअघि पाँचौँ संस्करण समेत नेपालले नै विराटनगरमा आयोजना गरेको थियो।

एन्फाका वरिष्ठ उपाध्यक्ष तथा साफ आयोजक समितिका संयोजक वीरबहादुर खड्काले प्रतियोगिताको सफल आयोजनाका लागि तयारी पूरा भएको बताए। प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ। समूह ए मा नेपाल, श्रीलंका र भुटान रहेका छन्।

समूह बी मा डिफेन्डिङ च्याम्पियन भारतसहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स रहेका छन्। लिग कम नकाउट प्रणालीका आधारमा हुने प्रतियोगिताका प्रत्येक समुहका शिर्ष २ टोलीले सेमीफाइनलमा स्थान बनाउनेछन्।

उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ। नेपालले भदौ २१ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ।

प्रतियोगिता संचालनका लागि अनुमानित कुल बजेट ३ करोड ४७ लाख ६७ हजार ६ सय ८० रुपैयाँ लाग्ने एन्फाले जनाएको छ। सहभागी टोली र म्याच अफिसियलको खानपिन तथा बसोबास साफले व्यर्होनेछ।

खेलमैदान तयारी र स्थानीय यातायात र अन्य स्थानीय खर्च एन्फाले व्यर्होने जनाइएको छ। प्रतियोगिता संयोजक खड्काले प्रतियोगिताको टिकट र ब्रोडकास्टिङ अधिकार ६५ लाखमा भारतीय कम्पनीमा हन्ड्रेड स्पोर्टसलाई दिइएको जनाए।

यस्तै, प्रतियोगिताको प्रत्यक्ष प्रशारण एपी वान टेलिभिजनले गर्ने एन्फाले जानकारी दिएको छ। प्रतियोगिताका लागि सामान्य प्यारापिटतर्फ ३ सय र भिआइपीतर्फ ५ सयको टिकट दर राखिएको एन्फाले जनाएको छ। एन्फाले प्रतियोगिताका लागि भुटान र पाकिस्तान नेपाल आइसकेको र अन्य टोली आइतबारसम्म आइपुग्ने जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार