राष्ट्रपतिको अधिकारबारे कहीँ उजुरी नलाग्ने प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको अधिकारबारे कहीँ उजुरी नलाग्ने जिकिर गरेका छन् ।

आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा उनले धारा ७६ (५) को प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिको स्वविवेकीय अधिकार हो भन्दै त्यसविरुद्ध प्रश्‍न गर्न नपाइने बताएका हुन् । उपधारा ५ अन्तर्गत सरकार बन्न सक्ने अवस्था नरहेपछि प्रतिनिधिसभा विघटनबाहेक अर्को कुनै संवैधानिक व्यवस्था नरहेको उनले दाबी गरे । उनले भने, ‘राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने योमात्र एउटा ठाउँ हो । त्यसविरुद्ध कहीँ उजुरी लाग्ने वा हेरफेर गर्ने ठाउँ हुँदैन ।’

उनले प्रतिनिधिसभा विघटनविरुद्ध अहिले अपव्याख्या हुन थालेको पनि टिप्पणी गरे । उनले भने, ‘न्वारनदेखिको बल लगाएर बुद्धि र प्रतिष्ठाको दुरुपयोग गरेर अपव्याख्यामा उत्रिनु दुःखको कुरा हो ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि दिएको समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको १२१ र जनता समाजवादी पार्टीको ३२ जना गरी १५३ सांसदको समर्थन रहेको दावी पेश गरेका थिए । तर राष्ट्रपतिले दुबैको आधार नपुगेको भन्दै धारा ७६ (५) को प्रधानमन्त्री नियुक्ति गर्न अस्वीकार गरेकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार