सिंहदरबारमा विपक्षीको हस्ताक्षर संकलन सकियो, रिटमा हस्ताक्षर गर्न बानेश्वरमा भेला

विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिट तयार पारेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेको हो । आजै सर्वोच्च जाने तयारीमा रहेको विपक्षी गठबन्धनको तर्फबाट एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका २० सांसदको हस्ताक्षर जुटेको छ । यसअघि नेपाल पक्षका २६ सांसदको हस्ताक्षर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि संकलन भएको भनिए पनि ६ जनाले भने आज हस्ताक्षर नगरेको बताइएको छ । नेताहरुका अनुसार ती ६ सांसदले हस्ताक्षर नगरेपनि देउवाको पक्षमा हस्ताक्षरको बहुमत भने जुटिसकेको छ ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै विपक्षी दलहरु संयुत्m हस्ताक्षरसहित अदालत जान लागेका हुन् ।

त्यसका लागि देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदले हस्ताक्षर, नागरिकता र सांसद परिचयपत्र संकलन गरिएको हो । विपक्षी दलले सिंहदरबारस्थित आ(आफ्नो संसदीय दलको कार्यालयमा सांसदलाई हस्ताक्षर गराएका हुन् ।

दलहरूले छुट्टाछुट्टै रूपमा हस्ताक्षर संकलन र नागरिकताको फोटोकपी संकलन गरेर संयुक्त रूपमा नयाँ बानेश्वरमा जम्मा भएका छन् । सांसदहरूसहित शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव, दुर्गा पौडेल लगायत नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमामा भेला भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार