एमालेले सोध्यो अष्टलक्ष्मीसहित १४ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण

नेकपा एमालेले १४ जना प्रदेशसभा सांसदलाई कारवाहीको प्रक्रिया अघि बढाएको छ । एमाले बागमती प्रदेश संसदीय बोर्डको शनिबार बसेको बैठकले अष्टलक्ष्मी शाक्यसहित माधव नेपाल समूहका १४ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई हराउन भूमिका खेलेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आइतबार बेलुका ५ बजेसम्म स्पष्टीकरण बुझाउन निर्देशन दिइएको मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

लामो समयदेखि संसदीय दल, पार्टी र दलको नेता तथा सरकारविरुद्ध गतिबिधि गरेको र चुनावमा पार्टीलाई हराउन भूमिका खेलेको कारण कारवाही किन नगर्ने भनी स्पष्टिकरण मागिएको उनले बताए । प्रदेशसभा सदस्यहरु अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्त मानन्धर, शान्तिप्रसाद पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीलाई स्पष्टीकरण सोधिएको छ ।

प्रदेशसभामा ५६ जना एमाले सांसदमध्ये माधव पक्षमा २१ जना थिए । राष्ट्रियसभा चुनावमा ७ जना माधव पक्षका सांसदले बादललाई भोट हालेकोले १४ जनालाई मात्र स्पष्टिकरण सोधिएको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार