निर्वाचनपछि नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउँछ : सागर ढकाल [भिडियाे]

‘देश विकासका लागि युवाहरु राजनीतिमा आउँनुपर्छ’

सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक दलहरु चुनाव केन्द्रित भएका छन् । नेताहरु गाउँ जान थालेका छन् । देशभर चुनावी सरगर्मी बढिरहेको छ । निर्वाचन आयोग र सुरक्षा निकायहरु पनि चुनाव केन्द्रित तयारीमा व्यस्त छन् ।यो पटक स्थानीय तहको निर्वाचनमा जस्तै संघ र प्रदेश तहमा पनि स्वतन्त्र रुपमा उम्मेद्वारी दिनेहरुको संख्या बढ्ने निश्चित छ । स्वयम प्रधानमन्त्री शेरबहादुर देउवाले स्वतन्त्र उम्मेद्वारको सामना गर्नुपर्ने अवस्था देखिएको छ । देउवाविरुद्ध इन्जिनियर सागर ढकालले उम्मेदवारी घोषणा गरिसकेका छन् । देउवा चौथो कार्यकाल प्रधानमन्त्री रहँदा एक टेलिभिजन कार्यक्रममा सहभागीको रुपमा सिंगापुरका लि क्वान युसँग जोडेर प्रश्न गरेका ढकालले हप्की भेटेका थिए । गुल्मीका उनै ढकाल अहिले देउवाविरुद्ध चुनावी तयारीमा व्यस्त छन् ।

ढकालले अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेका छन्। देउवालाई प्रश्न सोध्नेबेला सागरले पुल्चोक क्याम्पसबाट हाइड्रो मेकानिकलमा बिई गरेका थिए भने ४१० मेगावाटको नलसिङगाड जलविद्युत आयोजनामा करारको काम गरिरहेका थिए । अक्सफोर्डमा एक वर्षको पढाइ पूरा गरेपछि ६–७ महिना उतै बसेको र पछि चीनमा सागरले काम गरेका थिए । उनीसँग अमेरिका, चिन, भारत, सुडान लगायतका देशमा जलविद्युत सम्बन्धी काम गरेको अनुभव छ ।

डडेल्धुरामा २०४८ सालयताका सबै संसदीय चुनाव जितेका देउवालाई चुनौती दिने तयारी गरेका सागर ढकालसँग गरिएको कुराकानीको सम्पादीत अंश

डडेल्धुराको यात्रा कस्तो भयो ? तपाई पुग्दा त्यहाँका नागरिकले कस्तो प्रतिक्रिया जनाए ?
डडेल्धुराको यात्रा निकै राम्रो भयो । सोचेको भन्दा नि राम्रो । त्यहाँका नागरिकहरु सकारात्मक हुनुहुन्छ । आफूले पटक पटक भोट दिएको व्यक्तिबाट आश गरेअनुसारको काम नभएकोमा उहाँहरु केही निराश भएको पनि पाए । म त्यहाँ जानु भन्दा पहिले नै मेरो बारेमा धेरै कुराहरु थाहा पाइसक्नु भएको रहेछ । डडेलधुराबासी जागरुक हुनुहुन्छ । शहरका मान्छे भन्दा डडेल्धुराका मान्छेमा देशप्रति धेरै माया रहेछ । उहाँहरुको सद्भाव, मायाले मलाई अझ धेरै उर्जा प्रदान गर्यो । म नयाँ उर्जा बोकेर डडेल्धुराबाट फर्किएको छु ।

पाँच-पाँच पटक प्रधानमन्त्री भइसक्नु भएका देउवाको गृहजिल्लामा विकास कस्तो देख्नु भयो तपाईले ?
सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले सक्दो विकास गर्नु भएको छ । तर आवश्यकता अनुसार विकास भएको छैन । जसरी भारतमा नरेन्द्र मोदीले गुजरात बनाउनुभयो, चिनमा सिजिङ पिङले ह्याङ्जो बनाउनु भयो , त्यसरी प्रधानमन्त्री देउवाले कम्तीमा पनि डडेलधुरा त बनाउँनु हुन्छ भन्ने हाम्रो आशा थियो । तर त्यसो भएन । उहाँले डडेल्धुराको विकास उत्कृष्ट तरिकाले गरेको भए, त्यो मोडेल देश भरि नै लागू गरेर समृद्ध नेपाल बनाउन सकिन्थ्यो । अहिले पनि डडेल्धुराबासी रोजागारीको लागि भारत जानुपर्ने अवस्था छ । स्वास्थ्य शिक्षाको सुविधा अझै पनि नपाएका थुप्रै गाउँ छन् । यत्तिका धेरै सम्भावना रहेको डडेल्धुराबासी दुखमा बाँची रहेका छन् । उनीहरु त संसारकै सबैभन्दा सुखी र खुसी हुनुपर्ने हो। तर आज सम्म त्यस्तो भएन । अब हुनुपर्छ । र हामी गर्छौ ।

काँग्रेसका सभापति तथा बर्तमान प्रधानमन्त्री जस्ले यहाँलाई बिबिसीको साझा सवालमा सहभागीको रुपमा प्रश्न गर्दा हप्काउनु भएको थियो । उहाँसँग नै चुनाव लड्ने विचार कसरी आयो ? यो योजना कहिले देखिको हो ?
प्रधानमन्त्री बन्छु र देश विकास गर्छु भन्ने योजना पहिलेदेखिको नै हो । हजुरबुबा पुस्ताले हामीलाई धेरै दुख दिनु भयो । देश विकास गर्नु भएन । जे आस गरेका थियौँ त्यो पाएनौँ । यो भन्दा राम्रो विकास त एउटा बालकले गर्छ । मैले पहिले देखि नै देशको बारेमा सोच्थे । प्रधानमन्त्री भएर देश विकास गर्ने योजनाहरु मैले पहिलेदेखि नै तयार गरेको थिए । अहिले अझ धेरै परिपक्क भएर आएको छु । विभिन्न देशको विकासको मोडेललाई प्रत्यक्ष हेरेको छु । हचुवा तरिकामा आएको होइन । मसँग विकासको स्पष्ट योजना छ ।

डडेल्धुराको विकल्प तपाईको जन्मस्थान गुल्मी वा अन्य कुनै ठाउँ किन हुन सकेन ?
आजसम्म नेपालको विकास हुन नसक्नुको दोष नेतृत्वकर्ताले लिनु पर्छ । उहाँहरुकै कारणले देश विकास भएन । त्यसमध्ये देउवा पनि एक व्यक्ति हुनुहुन्छ । उहाँलाई हराउन म डडेल्धुराबाट चुनाव लड्न लागेको हुँ । यसै गरि देशभरी नै युवाहरु उठ्नु पर्छ । हजुरबुवा पुस्तालाई हामीले जसरी पनि विदा गर्नु पर्छ । धेरै ढिला भइसकेको छ । अब पनि हामी युवाहरु चुप बस्यौँ भने देशको विकास कहिल्यौ हुँदैन । हामीले अहिले अन्तिम मौका पाएका छौँ । गुमाउनु हुँदैन । युवाहरुलाई जगाउनका लागि र हिम्मत दिनका लागि पनि म डडेल्धुरा पुगेको हुँ ।

देउवालाई हराएर प्रधानमन्त्री बन्छु भनेर हिड्नु भएको छ । त्यो त्यति सजिलै सम्भव छ ?
सजिलो छैन । तर असम्भव पनि छैन । जनता जागरुक भइसकेका छन् । युवाको पक्षमा छन् । मसँग देश बनाउने योजना छ । स्पष्ट आधार छ । जनतालाई विकास र समृद्धि चाहिएको छ । त्यो युवाबाट मात्र सम्भव छ । पटक पटक अवसर पाएर पनि काम गर्न नसक्ने नेतालाई फेरि पनि भोट दिनु मुर्खता हो । अब हजुर बुवा पुस्ताको विदा अनिवार्य भइसक्यो । आराम गर्न दिनुपर्छ । जिम्मेवारी दिएर देश पनि विकास नहुने, उहाँहरुले दुख पनि पाउने अवस्था आउन दिनुहुँदैन । अबको २० वर्षमा नेपालको विकास विश्वकै उत्कृष्ट हुनुपर्छ । आजसम्म नेपालमा थुप्रै संविधान बने । ती सवै उत्कृष्ट छन् । यस्तै प्रकारका संविधानको जगमा टेकेर धेरै देशले विकासको यात्रा गरे । हामी किन जहाँको त्यही छौँ ? यो प्रश्नको जवाफ खोज्नु पर्छ । मैले चिन र अमेरिका जस्तो देशमा काम गर्ने अवसर पाए । त्यहाँ मन्त्री हुनेहरु विज्ञ हुन्छन् । आफ्नो कार्यक्षेत्रको बारेमा पर्याप्त ज्ञान हुन्छ । तर नेपालमा आज सम्म जल स्रोतको ‘ज’ समेत थाहा नभएका व्यक्ति जलस्रोत मन्त्री भएका छन् । अनि देश विकास कसरी हुन्छ । यी सबै कुरालाई सुधार गर्नका लागि हामीले जित्न आवश्यक छ ।

४० बर्ष मुनिको प्रधानमन्त्री हुनुपर्छ देशमा भन्नु भएको छ, यो भनेको ४० बर्ष भन्दा माथिका सबै असक्षम हुन भनेको हो ?
त्यस्तो होइन् । ४० बर्ष मुनिका युवाहरुलाई देश विकासका लागि गोरु जोताए जसरी जोताउनु पर्छ । त्यसो गरिएन भने देश विकास हुँदैन । युवा पुस्तालाई निर्देशन गर्ने मान्छे पनि सक्षम हुनुपर्छ । ४० मुनिको नै हुनुपर्छ भन्ने चाँही होइन । अधिकाशं युवा भनेको हो । जनसंख्याको अनुपातका आधारमा राजनीतिमा युवाको सहभागिता शून्य छ भन्दा फरक पर्दैन । संविधानमा नै महिलाहरुको, जनताजातीहरु सहभागीता तोकिएको छ । तर युवाहरु अनिवार्य हुनुपर्ने कोही कतै छैन । सबै ठाउँमा युवाहरु शून्य हुँदा देशमा प्रगति भएन । देश हजुरबुवाको हातमा कहिले सम्म ? अब नातीहरु पनि सक्षम भइसके । म हजुर बुबाहरुलाई आव्हान गर्न चाहन्छु कि देश नातीहरुको जिम्मा दिनुस् । हामी चलाउँछौ । तपाईहरुले आराम गरेर सल्लाह दिनुहोस् । ४० मुनिको मुद्धा युवालाई जगाउनका लागि हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार