महन्थ र उपेन्द्रको संयुक्त वक्तव्य : आफ्नै नेतृत्वमा सरकार बन्ने मौका पाए नछाड्ने

तत्काल सरकारमा सहभागी नहुने

जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने भएको छ ।

अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति निकालेर केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने तर राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने जनाएका छन् ।

‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क-वितर्क एवम् अइकलबाजीहरू भइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभइ प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ। तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।’

पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा विभाजनको डिलमा पुगेको जसपाका दुई नेताबीच भएको छलफलबाट पार्टी तत्काल सरकारमा सहभागी नहुने सहमति बनाएको हो । दुई अध्यक्षद्वारा जारी विज्ञप्तिमा पार्टी प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार