प्रधानमन्त्री ओलीलाई पुनः शपथ गराउन जसपाको माग

प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले माग गरेको छ । प्रधानमन्त्री ओलीले शपथग्रहण गर्ने क्रममा राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुर्‍याएको भन्दै जसपाले पुनः शपथग्रहण गराउन माग गरेको हो ।

आइतबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीलाई पुनः शपथग्रहण गराउन माग गरेका हुन् । प्रधानमन्त्री पदको शपथग्रहण गर्ने क्रममा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शब्द दोहोर्‍याउन अस्वीकार गरेका थिए । सोही विषयमा यादवले विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘प्रधानमन्त्रीको शपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको ‘सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु’ भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी ‘सत्यनिष्ठापूर्वक त्यो पर्दैन’ भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गराउन हाम्रो पार्टी माग गर्दछ ।’

जसपा अध्यक्ष यादवले सरकारले गर्ने राजनीतिक नियुक्तिमा संविधानमा व्यवस्था गरिएको समानुपातिक, समावेशी सिद्धान्त अपनाउन पनि माग गरेका छन् । यसअघि पनि राजदूत नियुक्त गर्दा संविधानमा व्यवस्था गरिएको समानुपातिक र समावेशी अवधारणा उल्लंघन गरिएको भन्दै विज्ञप्तिमा लेखिएको छ, ‘यस्ता राजनीतिक नियुक्तिहरूमा वर्तमान सरकारले मधेसी, आदिवासी जनजाति, महिला, दलित, थारु लगायतका समुदायहरूको संविधानको व्यवस्था विपरित न्यून प्रतिनिधित्व गराई उपेक्षा र विभेद गरेको छ । अतः राज्यका सबै अंग, तह र निकायमा समानुपातिक समावेशी मान्यता तथा त्यस सम्बन्धी मापदण्डका आधारमा नियुक्ति गर्न हाम्रो पार्टी माग गर्दछ ।’

कोरोनाको दोस्रो लहरको बढ्दो प्रभावले नेपाली जनता आक्रान्त भएको भन्दै आवश्यक स्वास्थ्य जनशक्ति, बेड, अक्सिजन, आइसीयु, भेन्टिलेटर र औषधीको यथाशीघ्र व्यवस्था गर्न समेत जसपा अध्यक्ष यादवले माग गरेका छन् । यादवले सरकारले स्वास्थ्य सामग्रीको आपतकालीन व्यवस्थान गर्न नसकेको भन्दै त्यसतर्फ पनि ध्यानाकर्षण गराएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार