एमाले वार्ता : जेठ २ गते वरपर रहेर समस्या समाधान गर्न ओली सहमत

कार्यदलको नाम टुंगाउने जिम्मा ओली र नेपाललाई

एमाले विवाद मिलाउन दोस्रो तहका नेतासहित प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली नेपाल समूहको मागअनुसार जेठ २ भन्दा अगाडिको कुरालाई आधार मानेर अन्य छलफल अगाडि बढाउने कुरा भएको नेता भीम रावलले बताए ।

माधव समूहले जेठ २ बटमलाइन लिए पनि शुक्रबारको वार्तामा पूर्वमाओवादीका नेता गृहमन्त्री रामबहादुर थापा बादल संस्थापन पक्षबाट सहभागी थिए । यसको अर्थ २०७५ जेठ २ को अवस्थामा जस्ताको तस्तै फर्कने चरणबाट एमाले अघि बढेको र फेस सेभका लागि जेठ २ को आसपासबाट सहमति हुने एमाले स्रोतले जनाएको छ । करिब पौने ३ घण्टा चलेको वार्तामा माधव पक्षका नेता भीम रावलले पार्टी एकता कायम राख्न र पार्टीलाई अघि बढाउन गम्भीरतापूर्वक छलफल भएको जानकारी गराए ।

यस्तै आजको वार्ताले कार्यदलको नाम टुंगाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मा दिएको छ ।

कार्यदल बनाएर पार्टीको आन्तरिक विवाद टुंग्याउन सहमत भएका प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच दोस्रो दिन पनि भेटवार्ता भएको हो । वार्तामा एमालेको दोस्रो तहका नेताहरू पनि सहभागी थिए । बिहीबार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र नेता नेपाल आ-आफ्नो पक्ष नेताहरुसहित शुक्रबार फेरि वार्तामा बसेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार