मेयरको कुर्सी सम्हालेको भोलिपल्टै खानेपानी मुहान पुगे हर्क साम्पाङ

धरान उपमहानगरपालिकामा मेयरको कुर्सी सम्हालेको भोलिपल्टै हर्क साम्पाङ त्यहाँ देखिएको खानेपानी संकट समाधानका लागि खटिएका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेका बलिया उम्मेदवारलाई पाखा लगाउँदै लोकप्रिय मतसहित विजयी भएका हर्क साम्पाङ (हर्कराज राई) धरानको खानेपानी समस्या समाधानको खोजीमा लागेका हुन् ।

उनले अभियन्ताका रूपमा लामो समयदेखि धराने जनतालाई खानेपानी उपलब्ध गराउनुपर्ने विषयमा पैरवी गर्दै आइरहेका थिए । उनी बुधबार दिउँसो धरानमा वितरण गरिने सर्दु जलाधार क्षेत्रस्थित खानेपानीको मुहान अवलोकनमा पुगे । निजी मोटरसाइकल चढेर केही सहयोगीसहित मुहानमा पुगेका उनले त्यहाँ भएका कमजोरी सच्याउने र फोहोर गर्न नदिन निर्देशन दिएका छन् ।

उनी सर्दु जलाधारको मुहान पुग्दा पाइप फुटेर पानी खोलामै बगेर गइरहेको पाइएपछि तत्कालै मर्मत गरी धरानमा पठाउन निर्देशन दिएका छन् ।

उनले आफ्नो कार्यकालमा धरानमा पानीको समस्या हटाउने वाचा गरेका छन् । काकाकुल धरामा खानेपानी समस्या समाधान गर्ने प्रमुख एजेन्डा उठाएरै उनले चुनाव जितेका थिए । हर्कले धरानको पानी समस्या दीर्घकालीन समाधानका लागि सप्तकोसी नदी उचित विकल्प भएको बताउँदै आएका छन्।

धरानमा एसियाली विकास बैंकको सहयोगमा भूमिगत पानी निकालेर संकट टार्ने प्रयास असफल भइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार