ब्युटी प्याजेन्ट बलात्कार घटनाः कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् । शनिबार दिउँसो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले किशोरीमाथि बलात्कार गरेको आरोपमा पाण्डेलाई स्वयम्भूबाट पक्राउ गरेको हो ।

पाण्डेमाथि आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजना गरेका थिए । जसमा भाग लिएकी एक युवतीमाथि आयोजक पाण्डेले नशालु पदार्थ पिलाएर बलात्कार गरेको आरोप छ ।

पीडित युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् । तर जबरजस्ती करणीसम्बन्धी कसूरमा उजुरीका लागि एक वर्ष हदम्याद भएका कारण कानूनी कारबाही अघि बढाउन जटिलता देखिएको प्रहरीले बताएको थियो । त्यसपछि सामाजिक सञ्जालमा उक्त घटनाले उग्ररुप लियो । संसदमा पनि कुरा उठ्यो । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनमा प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरको नेतृत्वमा छानविन समिति गठन गरेको थियो।

मिस ग्लोबल प्रतियोगितामा आफू पनि छानिएपछि सञ्चालक पाण्डेले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले बताएकी छन् । आफू त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही नभएको र ती सञ्चालकले तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच/छ बजेबाट पार्टी सुरू हुन्छ भनेका थिए। किन कोही नभएको भनेर सोध्दा एकछिन बसेपछि उनले किशोरीलाई लेमोनेड खुवाएका थिए । त्यसपछि युवतीलाई रिंगटा लागेजस्तो भएको र घर जान्छु भन्दा होटलमै कोठा बुक भएको र त्यसमै गएर आराम गर्न  सञ्चालक पाण्डेले भनेका थिए ।

यसपछि आफूलाई राम्ररी होस नभएको उनले बताएकी थिइन् । बीचबीचमा आफू ब्युँझिँदा पाण्डेले आफूलाई बलात्कार गरिरहेको उनले बताएकी छन्। बिहान घर जाने बेलामा ती व्यक्तिले यो कुरा कसैलाई नभन्नू, मसँग तिम्रो फोटो र भिडिओ छ, सार्वजनिक गरिदिन्छु भनेर धम्क्याएको पनि उनले बताएकी थिइन् । त्यसपछि  ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको पनि उनले बताएकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार