शनिबार थप ८ हजार ४१८ जनामा कोरोना पुष्टि, ५३जनाको मृत्यु

सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३

नेपालमा शनिबार थप ८ हजार ४ सय १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १७ हजार ३१५ पीसीआर  परिक्षणका क्रममा  ८ हजार २ सय ८७ जना र ९८९ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५३ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ३ हजार ६३२ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै थप ३ हजार ३ सय ७० संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म दुई लाख ९८ हजार ७६५ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ८३ हजार ४९३ सक्रिय संक्रमित रहेका छन् भने ३९८ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २६ लाख १५ हजार ६२० वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार