गण्डकीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट कास्कीका दुई र पर्वतका एक जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरु तीनै जनाको पोखरामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीको पोखरा महानगरपालिका–१३ की ४८ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बेलुका ५.४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । ती महिलामा वैशाख १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कोभिड निमोनियाको समस्या रहेको बताइएको छ ।

यसैगरी पर्वतको कुश्मा नगरपालिका–१ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बेलुका ५.१८ बजे मृत्यु भएको छ । वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषमा कडा खालको कोभिड निमोनिया देखिएको निर्देशनालयले बताएको छ ।

यस्तै पोखरा महानगरपालिका–१० का ८१ वर्षीय पुरुषको पनि शुक्रबार बेलुका ७.२५ बजे मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनलाई शुक्रबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै एकैदिन ७ जना संक्रमितको मृत्यु भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार