मेयरको उम्मेदवार बन्न उपप्रमुख अधिकारीको राजीनामा

दमक नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बन्न उपप्रमुख गीता अधिकारीले पदबाट राजीनामा दिएकी छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नगरप्रमुख बन्न शुक्रबार नगरप्रमुख रोमनाथ ओलीसमक्ष राजीनामा दिएकी हुन् ।

निर्वाचन आयोगले फेरि उम्मेदवार बन्न अनिवार्य राजीनामा दिनुपर्ने बाध्यात्मक व्यवस्था ल्याएपछि अधिकारीले पदबाट राजीनामा दिएकी हुन् ।  अधिकारीसहित नगरप्रमुखका लागि दमकबाट नेकपा एमालेले तीनजना आकांक्षीको नाम माथिल्लो कमिटीमा उम्मेदवार छनोटका लागि पठाएको छ । अधिकारीसहित अम्बिका खनाल र होमबहादुर थापाको नाम पनि नगरमा भोट नै गरेर माथिल्लो कमिटीमा सिफारिस गरेको हो । चुनाव नजिकिएकाले राजीनामा दिइएको उनले बताइन् । ‘भोलि शनिबार बिदा भयो । आइतबार नोमिनेसनको हो । त्यसकारण आजैराजीनामा दिएँ,’ उनले भनिन् ।

अधिकारी लामो समय प्राध्यापन पेसाबाट २०७४ को स्थानीय तह निर्वाचनताका मात्र सक्रिय राजनीतिमा होमिएकी हुन् । त्यसबेला नेकपा एमालेले अधिकारीलाई उपप्रमुखको उम्मेदवार बनायो । उनी विजयी भइन् । दमक नगरपालिकाको उपप्रमुखको जिम्मेवारी सम्हालेपछि अधिकारी एमालेको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्य पनि भइन् । यसपटक उनीसहित सिफारिस गरिएका तीन नाममध्ये अधिकारी नगरप्रमुखको सशक्त दावेदार मानिन्छिन् । उपप्रमुख अधिकारीका श्रीमान् मदन अधिकारी एमाले अध्यक्ष केपी ओलीसँग निकट निर्माण व्यवसायी हुन् । यद्यपि मदन अधिकारीको मैनाचुली निर्माण कम्पनीले हुलाकी राजमार्गअन्तर्गत पर्ने बिरिङ नदीको पुल एक दशकदेखि अलपत्र पारेको छ ।

अधिकारीले मात्र हैन झापामा अन्य जनप्रतिनिधिले पनि राजीनामा दिन थालेका छन् । यसअघि गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दीपिन्द्र थापाले पनि अध्यक्ष पदमा आकांक्षा देखाउँदै राजीनामा दिइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार