मेस्सी र ग्रिजमनको गोलमा बार्सिलोनाको पूनरागमन जित

कप्तान लियोनेल मेस्सीको २ गोलको सहयोगमा बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियालाई हराउँदै पूनरागमन जित निकालेको छ । बार्सिलोना एक गोलले पछि परेको अवस्थामा ३–२ को पूनरागमन जित निकालेको हो ।

बार्सिलोनाको जितमा मेस्सीले दुई तथा ग्रिजमनले एक गोल गरे । घरेलु टोली भ्यालेन्सियाका गाब्रियल पाउलिस्टा र कार्लोस सोलेरले गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरी रहेको अवस्थामा सबै पाँच गोल दोस्रो हाफमा भएका थिए । भ्यालेन्सियामा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको ५०औं मिनेटमा गाब्रियल पाउलिस्टाको गोलबाट घरेलु टोलीले खेलमा सुरुवाती अग्रता लिएको थियो ।

तर ५७ औं मिनेटमै मेस्सीले बराबरी गोल फर्काए । पेनाल्टीमा असफल भए पनि रिबाउण्डमा उनैले गोल गरेपछि खेल बराबरीमा आएको हो । त्यसपछिको १२ मिनेटभित्र बार्सिलोनाले थप २ गोल गर्‍यो ।

६३ औं मिनेटमा एन्टोइन ग्रिजम्यानले गोल गरे । ६९ औं मिनेटमा मेस्सीलेनै फ्रिकिकमार्फत शानदार गोल गरी ३–१ को अग्रता दिलाए । ८३ औं मिनेटमा भ्यालेन्सियाका कार्लोस सोलरले एक गोल फर्काए पनि पर्याप्त बनेन ।

अर्को साता बार्सिलोनाले लिग लिडर एट्लेटिको मड्रिडलाई नोउ क्याम्पमा आतिथ्य गर्नेछ । यो खेल ला लिगाको उपाधि होडमा निर्णायक बन्न सक्छ । अहिले समान ३४ खेलमा एट्लेटिको ७६ तथा रियल मड्रिड र बार्सिलोनाको समान ७४ अंक छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार