कास्कीमा बुधबारदेखि निषेधाज्ञा, यातायातमा जोरबिजोर लागू

कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि कास्कीमा बुधबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार एक विज्ञप्ती जारी गरि बैशाख १५ गते बिहानदेखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै कामहरु बन्द गरिने जनाएको हो ।

कार्यालयले मानवीय भिडभाड हुने सबै क्षेत्र बन्द गरे पनि सार्वजनिक तथा निजी यातायात भने बन्द गरेको छैन । बुधबारदेखि यातायातमा जोरबिजोर लागू गर्ने गरी ‘आंशिक’ लकडाउन गर्ने प्रशासनले आदेश जारी गरेको हो ।

‘कोरोना संक्रमणको दर ह्यात्तै बढेपछि आर्थिक गतिविधि ठप्प नहुने गरी निषधाज्ञा जारी गर्ने निर्णय गरिएको छ’ सहायक सिडिओ श्रीनाथ पौडेलले भने, ‘अत्यावश्यबाहेक घर बाहिर ननिस्कन भनेका छौं भने सवारी साधन जिल्लाभित्र जोरबिजोरमा सञ्चालन गर्ने निर्णय गरेका छौं ।’

अत्यावश्यक सेवा बाहेक जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीमा जोडबिजोर लागू गरिएको छ । जोर गते जोर नम्बर र विजोर गते बिजोर नम्बरको सवारी चलाउनुपर्नेछ ।सिनेमा हल, पार्टी प्यालेस, क्लब, फुटसल, खेलकुद स्थान, ब्युटीपार्लर, सैलुन, फुटपाथ सेवा तथा स्थानहरु बन्द हुनेछन् ।

बैंक तथा वित्तिय संस्था न्यूनतम कर्मचारी राखेर सञ्चालन गर्नुपर्नेछ भने होटल तथा रेष्टुराँले विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म टेक अवे सेवा दिन सक्नेछन् ।

कोभिड १९ व्यवस्थापन केन्द्र (सिसिएमसी)को आइतबार बसेको बैठकले सहरी क्षेत्रमा ५ सयभन्दा बढी सक्रिय संक्रमित भेटिएको ठाउँमा लकडाउन गर्ने निर्णय गरेको थियो ।

लकडाउन गर्न सम्बन्धित जिल्लाका सिडिओले अधिकार दिइएको थियो । कास्कीमा सोमबारसम्म ६ सय ६४ जना सक्रिय संक्रमित छन् । हालसम्म कास्कीमा कोरोनाबाट १ सय २० जनाको मृत्यु भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार