भुसाल र पन्तले गरेकाे वाम एकताको प्रस्ताव ओलीद्वारा ठाडै अस्वीकार

काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठकमा केही नेताले वाम एकताको प्रस्ताव राखेका छन् । सोमबार काठमाडौंमा बसेको पोलिटब्युरो बैठकमा नेताहरू घनश्याम भुसाल र रघुजी पन्तले वामपन्थी एकता गरेर जानुपर्ने प्रस्ताव गरेको हुन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलसँग वामपन्थी एकता गर्नुपर्ने विषय उठेपछि केही नेताहरूले भने यसमा अल्झन नहुने बताएका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार भुसाल र पन्तले वाम एकताका लागि अध्यक्ष केपी ओलीले पहलकदमी लिनुपर्ने बताएका छन् । ती नेताले भने ‘वामपन्थी एकताको विषय घनश्याम र रघुजीले उठान गर्नुभएको छ। वामपन्थी दलहरूबीच एकता गर्दै जानुपर्ने र त्यसमा अध्यक्ष केपी शर्मा ओलीले पहलकदमी लिनुपर्छ भनेर उहाँहरुले प्रस्ताव गर्नु भएको छ । अन्य नेताले भने यस्ता कुरामा अल्झीन नहुने बताउनु भएको छ ।’

तर, दुई नेताको प्रस्तावलाई ओलीले ठाडै अस्वीकार गरेको एक नेताले बताए। ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अहिले हाम्रो मुख्य प्राथमिकता निर्वाचन हो। त्यसको तयारीमा लाग्नुस्। हामीलाई कमजोर बनाउनेहरूलाई अहिले स्वीकार गर्न सक्दैनौँ। त्यस्तो कुरा कुनै हालतमा स्वीकार गर्न सकिँदैन। त्यो कुरै नगर्नुस्।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कम्युनिष्ट मान्न नसकिने ओलीको भनाइ थियो।

०७४ को चुनावअघि एमाले र माओवादीबीच वामगठबन्धन हुँदै पछि नेकपा पार्टी बनेको थियो। तर पार्टीभित्र बिबाद बढ्दै गएका बेला सर्वोच्चको आदेशपछि एमाले र माओवादी पुन अस्तित्वमा आएका थिए। यसबिच नेकपा एमाले विभाजन समेत भयो । एमाले विभाजन गरी माधव कुमार नेपालले नयाँ पार्टी समेत खोलेका छन् । यस्तो बेला फेरि पनि बाम एकताको बहस चर्चामा आएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार