रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध

युक्रेनमाथि मस्कोको आक्रमणको विरोधमा आर्थिक प्रतिबन्धलाई बढाउँदै अमेरिका र ब्रिटेनले रुसी तेलमा प्रतिबन्ध लगाउँदै छन् भने युरोपेली सङ्घले रुसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्न गइरहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले “रुसको अर्थतन्त्रको मुख्य धमनी”लाई नै प्रहार गर्ने बताएका छन् । ऊर्जा निर्यात रुसी आम्दानीको एउटा महत्त्वपूर्ण स्रोत हो, तर पश्चिमी देशहरूको यो कदमले उनीहरूकै उपभोक्तालाई पनि असर गर्ने सम्भावना हुन्छ । यसैबीच, बहुराष्ट्रिय ठूला ब्रान्डहरूले रुसबाट बाहिरिने क्रम जारी राखेका छन् ।

म्याकडोनल्डस् र कोका-कोला रुस छाड्ने पछिल्ला कम्पनी बनेका छन् । रुसको अर्थतन्त्र ऊर्जा व्यापारमा धेरै मात्रामा निर्भर छ । यो साउदी अरब र अमेरिकापछि विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो । पश्चिमा प्रतिबन्धहरूको घोषणाअघि रुसले त्यस्ता प्रतिबन्धहरूले विश्वव्यापी अर्थतन्त्रमा “विध्वंसक” नतिजा ल्याउने चेतावनी दिएको थियो । उसले जर्मनीमा ग्यास आपूर्ति गर्ने आफ्नो मुख्य ग्यास पाइपलाइन बन्द गर्नसक्ने चेतावनी पनि दिएको छ ।

द्वन्द्वले अमेरिका र ब्रिटेनमा पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ । युद्ध भइरहेको युक्रेनमा आक्रमणमा परेका दुईवटा क्षेत्रबाट सर्वसाधारणलाई बाहिर निकालिएको छ । अमेरिकाले हालसम्म ४,००० रुसी सैनिक मारिएको हुनसक्ने बताएको छ ।

अमेरिकी राजनीतिका दुवै पक्षबाट राष्ट्रपति बाइडनलाई रुसी अर्थतन्त्रलाई लक्षित गर्न दबाव परेको थियो । बाइडनले भने, “हामी सबैखाले रुसी तेल र ग्यास तथा ऊर्जाका सबै आयातमा प्रतिबन्ध लगाइरहेका छौँ ।” “यसको अर्थ अब रुसी तेल अमेरिकी बन्दरगाहहरूमा स्वीकार्य हुनेछैन र अमेरिकी जनताले पुटिनलाई अर्को शक्तिशाली प्रहार गर्नेछन् ।”

उनले यो कदम “देशभित्र असर पर्ने” मूल्यमा नै चालिएको र साझेदारहरूसँग छलफल गरेर नै निर्णय गरिएको बताए । उस्तै शैलीमा ब्रिटेनले पनि सन् २०२२ को अन्त्यसम्ममा रुसी तेलको आयात बन्द गर्ने भएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले यो कदमले रुसलाई तुरुन्तै असर गर्ने छैन भनेर स्वीकारेका छन् ।

तर उनले भने “यसले के गर्छ भने रुसमाथि दबावमा थपिनेछ जुन हामीले अहिले रुसमा देखिरहेका छौँ ।” अमेरिकी तेल र प्रशोधित उत्पादन आयातको लगभग ८ प्रतिशत रुसबाट आयात हुन्छ रुसले ब्रिटिश तेल आयातको लगभग ६ प्रतिशत हिस्सा रुसी तेलले ओगटेको छ । तर ईयू भने रुसी ऊर्जामा धेरै नै निर्भर छ । त्यसैले ईयूले तत्कालै प्रतिबन्ध लगाउने कडा कदम चाल्न सकेको छैन ।

युरोपेली आयोगले “सन् २०३० भन्दा पहिले” रुसी जीवाश्म इन्धनबाट युरोपलाई मुक्त बनाउने लक्ष्यका साथ वैकल्पिक ऊर्जा आपूर्तिमा रूपान्तरण गर्ने र त्यो कमीलाई पूरा गर्न वातावरणमैत्री ऊर्जालाई तीव्र विस्तार गर्ने बताएको छ ।

अमेरिकी र युरोपेली प्रतिबन्धको प्रतिक्रिया स्वरूप रुसले पनि केही वस्तु र कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाउने योजना घोषणा गरेको छ । तर त्यसको विस्तृत विवरण आउन अझै बाँकी छ । यद्यपि रुस अन्न र धातुको प्रमुख निर्याकर्तामध्ये पर्छ ।- बीबीसी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार