नेपाल सुपर लिग शनिबारबाट सुरु हुने, सहभागीहरु उत्साहित

नेपाल सुपर लिगको पहिलो संस्करण शनिबारबाट काठमाडौंमा सुरु हुने भएको छ । सात टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा शनिबार काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबिच प्रतिस्पर्धा हुनेछ ।

त्यसअघि शुक्रबार काठमाडौंमा आयोजना गरिएको प्रि टुर्नामेन्ट पत्रकार सम्मेलनमा सबै टिमको प्रशिक्षक र कप्तानले आफ्नो तयारी राम्रो रहेको बताएका छन् । टिम धनगढीका प्रशिक्षक युगल किशोर राईले तयारीको समय कम भएपनि सक्दो राम्रो प्रशिक्षण गरेको बताए । यस्तै कप्तान किरण चेम्जोङले तयारीको समय थोरै भएपनि आफ्नो टिमको क्षमतालाई भरपुर प्रयोग गरेर खेल्ने बताए ।

विराटनगरको प्रशिक्षक यान लले राम्रो प्रतियोगिताका लागि तयारी पनि राम्रो रहेको र सबै खेलाडीले मेहेनत गरेको बताए । यस्तै कप्तान रजिन धिमालले तयारी राम्रो भएको र आफूहरुको लक्ष्य उपाधि जित्ने नै रहेको बताए । बुटवल लुम्बिनीका प्रशिक्षकले पनि तयारी राम्रो रहेको र विदेशी खेलाडीपनि राम्रो रहेका धारणा राखे । यस्तै कप्तान विशाल श्रेष्ठले पनि टिमको तयारी राम्रो रहेको बताए ।

एफसी चितवनका प्रशिक्षक मेघराज केसीले आफूहरुले सकेको जति कोसिस गरेर प्रशिक्षण गरेको र उपाधि जित्ने टिम आफूहरु भएको दावी गरे । यस्तै कप्तान भरत खवासले एएफसी कपको छनोट खेलका कारण सबै खेलाडीले प्रशिक्षण गर्न नपाएको र प्रतियोगितामा राम्रो खेल्ने विश्वास रहेको धारणा राखे । काठमाडौं रेजर्सका कप्तान बालगोपाल महर्जनले तयारी राम्रो रहेको र खेलाडीले पनि राम्रो प्रशिक्षण पाएको बताए ।

यस्तै कप्तान विकेश कुथुले नेपाल सुपर लिग निकै ठूलो प्ल्यार्टफर्म रहेको र यसको राम्रोसँग सदुपयोग गर्ने धारणा राखे । ललितपुरका प्रशिक्षक प्रदिप हुमागाईले शनिबार हुने खेलका लागि आफ्नो टिम तयार रहेको बताए । यस्तै कप्तान अञ्जन विष्टले टिम राम्रो रहेको र लक्ष्य उपाधि भएको बताए । पोखराका प्रशिक्षक राजेश शाहीले टिमले घरेलु मैदानमा नै प्रशिक्षण गरेकाले पनि राम्रो भएको बताए । यस्तै कप्तान अनिल गुरुङले प्रशिक्षणको समय छोटो हुँदा खेलाडीको वास्तविक जाँच हुन बाँकी रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार