कुशल पहिलोपटक विश्व टी–२० क्रिकेटको वरियतामा

नेपाली युवा खेलाडी कुशल भुर्तेल पहिलोपटक विश्व टी–२० क्रिकेटको वरियतामा पर्न सफल हुनुभएको छ । रुपन्देहीका २४ वर्षीय भुर्तेलले काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा लगातार तीन खेलमा तीन अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएपछि उहाँलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले वरियतामा समावेश गरेको हो ।
भुर्तेल टी–२० को नयाँ वरियतामा शीर्ष १०० खेलाडीको सूचीमा परेका छन् । उनी ९३ औँ स्थानमा रहेका छन् । भुर्तेल सन् २०२१ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा समेत पर्न सफल भएका छन् । उनले तीन खेलमा एक सय ८५ रन बनाएका छन् । भुर्तेलले नदेरल्याण्ड्सँगको खेलमा दुई तथा मलेसियासँगको खेलमा एउटा अर्धशतक बनाएका थिए । नेदरल्याण्ड्ससँगको पहिलो खेलमा भुर्तेलले ६२ रन, मलेसियासँगको खेलमा ६१ रन तथा नेदरल्याण्ड्ससँगको खेलमा ६२ रन बनाएका थिए ।
यसै गरी आइसिसीले जारी गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ८३औँ स्थानमा परेका छन् । उनी यसअघिको वरियतामा ७३औँ स्थानमा थिए । अभ्यासका क्रममा घाइते भएपछि खड्का हाल जारी त्रिदेशीय टी–क्रिकेट सिरिज खेल्नबाट वञ्चित भएका छन् ।
यस्तै बलिङतर्फ सन्दीप लामिछाने विश्व वरियतामा ७७ औँ स्थानमा रहेका छन् । उनी यसअघि ८४औँ स्थानमा रहेका थिए । हाल जारी टी–२० सिरिजमा लामिछानेले तीन खेलमा आठ विकेट लिएका छन् । उनले नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा मङ्गलबार चार विकेट लिएका थिए । योसँगै लामिछाने नेपालका लागि टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन् । टी–२० क्रिकेटमा उनले हालसम्म २४ खेलमा ४२ विकेट लिएका छन् । यसअघि टी–२० क्रिकेटमा नेपालका लागि सर्वाधिक विकेट लिने कीर्तिमान करण केसीको नाममा थियो । उनले ३१ खेलमा ४१ विकेट लिएका छन् ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार