बाँकेमा ९ गतेदेखि एकसाताका लागि लकडाउन गर्न सिफारिस

बाँकेमा कोरोना सङ्क्रमणले भयावह रुप लिँदै गएपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समिती (डिसीसीएमसी) ले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्ने सिफारिस गरेको छ ।

डिसीसीएमसीको मंगलबार बसेको बैठकले बाँकेमा तीव्र गतिमा चारैतिर फैलिरहेको कोरोनाको चेन तोड्नका लागि कम्तीमा एक साताको लकडाउन गर्नुपर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । उनले एक दिनमा ३०० भन्दा बढी सङ्क्रमित भेटिन थालेपछि नेपालगञ्जलगायत जिल्लाका विभिन्न क्षेत्रहरु धेरै जोखिममा परेकोले लकडाउनको विकल्प नरहेको हुँदा बाध्य भएर लकडाउनको निर्णय गरिएको बताए ।

बैशाख ९ गते बिहीबारदेखि एक सातासम्मका लागि अति आवश्यक सेवा बाहेक सबै क्षेत्र बन्द रहनेगरी लकडाउन गरिने निर्णय गरेर डिसीसीएमसीले प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो । यसबारे भोलि निर्णय हुने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि बेड समेत अभाव भएपछि लकडाउन बाध्यकारी भएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । पछिल्लो समयमा केही दिन यता बाँके जिल्ला कोरोनाको हटस्पट बनेको छ । पहिलो पटक बाँकेमा एकैदिन ३२२ जना कोरोना सङ्क्रमित भेटिएका छन् । डिसीसीएमसी बाँकेका अनुसार गतवर्षदेखि हालसम्मकै दर हेर्दा बाँकेमा भेटिएका कोरोना सङ्क्रमितको आँकडा अहिले सबैभन्दा उच्च हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार