लुम्बिनीमा मन्त्री बनेका जसपा सांसदलाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण माग

लुम्बिनी प्रदेशका नवनियुक्त चार मन्त्रीलाई जनता समाजवादी पार्टी (जसपा)ले निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग स्पष्टीकरण माग गरेका हुन् ।

सोमबार आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका थिए । जसपाका मन्त्रीमध्ये सन्तोष पाण्डेले भौतिक पूर्वाधारको जिम्मेवारी पाएका छन् । त्यसैगरी कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री, विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

अध्यक्ष यादवले सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने पनि बताएका छन् ।

सोमबार लुम्बिनी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर अविश्वास प्रस्ताव दर्ता गरेको केहीबेरमा जसपाका ४ जना नेताहरु मन्त्री नियुक्त भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार