सवारी दुर्घटनामा परि झापामा एकैदिन पाँच जनाको मृत्यु

झापाको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि एकैदिन पाँच जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका ३ सुरुङ्गामा बुधबार राति साढे ७ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा १ प ६३०० नम्बरको मोटरसाइकललाई प्रदेश १-०१-००१ख ४२६८ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको हो । 

ठक्करबाट गम्भीर घाइते भएका बिर्तामोड नगरपालिका-७ बस्ने ३८ वर्षीय तेजमणि खरेलको उपचारका क्रममा बिएण्डसी अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा सोही मोटरसाइकलमा पछाडि सवार मेचीनगर नगरपालिका १० बस्ने वर्ष २९ को प्रसन्न दनुवारको विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ । यता बुधवार राति झापाको भद्रपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । योसँगै बुधवार एकैदिन झापामा सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन् ।

राति ८ बजेको समयमा भद्रपुर नगरपालिका वडा नं. ८ नमुना टोलस्थित चन्द्रगढी– भद्रपुर भित्री सडकखण्डमा भद्रपुरबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे ४ प ४८९६ नम्बरको मोटरसाइकलले पैदलयात्री नाम थर वतन नखुलेको मागिखाइ हिँड्ने वर्ष अन्दाजी ८० की पहाडे मूलको जस्तो देखिने महिलालाई ठक्कर दिएको थियो ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका ती वृद्धालाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उपचारका क्रममा राति ९ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनापछि मोटरसाइकल चालक भद्रपुर नगरपालिका ८ बस्ने ४९ वर्षीय बिसन मोतेलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । यता झापा शिवसताक्षीमा बुधबार बिहान एकै गाउँका ३ जनाको समेत मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो । 

बुधवार बिहान ५ बजेर १८ मिनेटमा झापा शिवसताक्षी नगरपालिका ८ झिलझिलेमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्र १—०१—००१— च ९३२९ नम्बरको बोलेरो कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

घटनामा मृत्यु हुनेमा कमल गाउँपालिका ४ का एक्कै गाउँका मोटरसाइकल चालक २५ वर्षीय मौसम राई र पछाडि सवार २० वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मी रहेको प्रहरीले जनाएको छ। उनीहरू एउटै मोटरसाइकलमा चढेर पौडी खेल्न शिवसताक्षी नगरपालिका १० मा रहेको दोमुखी क्षेत्रमा जाँदै गरेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार