विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउन राप्रपालाई निर्वाचन आयोगको निर्देशन

झन्डामा रहेको गाई चिन्ह पनि हटाउन निर्देशन

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई विधानबारे हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन निर्देशन दिएको छ ।

राप्रपाले गत पुस १० गते आफ्नो संशोधित विधान र केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरी आयोगमा पेश गरेको थियो।

आयोगले २ माघमा राप्रपालाई पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिबृद्धि गर्न र कायम गर्न’ भक्न्ने वाक्यांश हटाउन भनेको हो ।

‘विधानको प्रस्तावनाको ४ मा उल्लेखिद सनातन हिन्दु राष्ट्र एवम राजसंस्थासहितको प्रजातन्त्रको मान्यता स्थापित गर्न र कायम गर्न’ भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकूल देखिएकाले सो वाक्यांश हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुकूल हुने गरी उल्लेख गर्नुहुन,’ राप्रपालाई आयोगले पठाएको पत्रमा उल्लेख छ।

यस्तो वाक्यांशसहितको विधान सात दिनभित्र पेश गर्न पनि निर्देशन दिइएको छ। यस्तै, राप्रपाको झन्डाको मध्य भागमा रहेको गाई चिन्ह पनि हटाउन आयोगले निर्देशन दिएको छ।

आयोगले माओवादी केन्द्रलाई पनि विधानमा रहेको वर्ग संघर्ष,  साम्यवाद जस्ता शब्द हटाउन निर्देशन दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार